यातायात व्यवसायीको माग सम्बोधन गर्न पहल गर्ने अध्यक्ष दाहालको प्रतिवद्धता
काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न पहल गर्ने बतएका छन् । राहत व्यवस्थाका लागि पार्टी र सरकारमा आफूले छलफल गर्ने बताए ।
वर्तमान परिस्थितिमा सार्वजनिक यातायात संचालनमा सहज वातावरण बनाइदिन अनुरोध सहित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघको संयुक्त कार्यदलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई उहाँको निवासमा भेटी श्रमिक र व्यवसायीहरुका जायज आवश्यकताका विषयमा ध्यानाकर्षण यस्तो कुरा बताएका हुन् ।
यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन बिहीबार खुमलटारस्थित निवासमा बुझ्दै प्रचण्डले सो कुरा बताएका हुन् । व्यवसायीहरुसँगको भेटमा प्रचण्डले भने, ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ । यहाँ पनि यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ ।’
प्रचण्डले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा सरकारले तुरुन्तै गरिदिनु पर्नेसमेत बताएको उनको सचिवालयले जनाएको छ ।
भेटमा व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । व्यवसायी तथा मजदुर नेताहरुले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् । ।
प्रतिक्रिया दिनुहोस्