प्रदेश संसदको पहिलो अधिवेशनको टुङ्गो लाग्यो

काठमाडौं – १ र ६ नम्बर बाहेकका सबै प्रदेशमा प्रदेश संसदको पहिलो अधिवेशनको मिति टुङ्गो लागेको छ ।

प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक आउँदो आइतबार जनकपुरमा रहेको शैक्षिक तालिम केन्द्रको सभा कक्षमा बस्नेछ । यस्तै प्रदेश नम्बर ३ को संसदको पहिलो अधिवेशन आउँदो बिहीबार हेटौंडाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा र प्रदेश नम्बर ४ को पहिलो अधिवेशन आउँदो २२ गते सोमबार नगर विकास प्रशिक्षण केन्द्रको भवन नदीपुर पोखरामा बस्नेछ ।

यसैगरी ५ नम्बर प्रदेशको पहिलो अधिवेशन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा र ७ नम्बर प्रदेशको पहिलो अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा आउँदो आइतबार बस्ने तय भएको छ ।

प्रदेश प्रमुख नियुक्त भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बस्नुपर्ने भए पनि १ र ६ नम्बर प्रदेशमा यसको अझै टुंगो लाग्न सकेको छैन । प्रदेश नम्बर १ को पहिलो अधिवेशनको मिति साेमबार टुंगो लाग्ने छ भने प्रदेश नम्बर ६ को अाइतबार टुंगो लगाउने संभावना छ ।

सरकारले माघ ३ गते सातवटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेको थियो । अबको एक हप्ताभित्र प्रदेशसभाको पहिलो बैठक बसि सक्नुपर्ने भएपछि सबै प्रदेशमा बैठक स्थल मर्मत सम्भार तथा रंगरोगनको काम भैरहेको छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको चुनाव गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्