६ करोडको आईपिओ जारी गर्दै कालिका पावर

काठमाडौं । कालिका पावर कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दाको लागि माघ २१ गतेदेखि साधारण सेयर (आईपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

आइपिओमा आगामी फागुन ६ गतेसम्म आवेदन गर्न पाइनेछ ।

कम्पनीका अनुसार गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४ र ५ तथा ६, भीमसेन गाउँपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत शेयर बिक्री गर्ने छ । ती गाविसका जनताले २ लाख ४० हजार कित्ता शेयर पाउनेछन् ।

गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि र अधिकत्तम ३ हजार कित्ता अर्थात तीन लाख रुपैयाँसम्मको आवेदन दिन सकिनेछ ।

६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कालिका पावरले पहिलो चरणमा आयोजना प्रभावित बासीन्दालाई ६ करोडको साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको १२ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

कालिका पावरले गोरखा जिल्लामा ६ मेगावाटको दरौंदी ‘ए’ साना जलविद्युत आयोजना सञ्चालन गरेको छ ।
आइपिओ जारी गर्न कम्पनीले बिक्री प्रबन्धकलाई काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्