मुख्यमन्त्रीको टुंगो लगाउन वाम कार्यदलको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनका बिषयमा सहमति जुटाउन वाम गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

बैठकले प्रदेशमा दलगत स्थिति, एकताको स्पिरिट, योग्यता र सन्तुलनलाई केन्द्रमा राखेर मुख्यमन्त्रीको भागबन्डा गर्ने र प्रदेशको सभामुख, उपसभामुख तथा मन्त्रीहरु लगायत अन्य विषयमा समेत सहमति जुटाउने एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँट सहमतिमै टुंगो लगाएको कार्यदललाई कम्युनिस्ट गठबन्धनका शीर्ष नेताले प्रादेशिक सरकार गठनको समेत जिम्मेवारी दिएको छ । कार्यदलको यसअघिको बैठकले प्रदेश सरकार निर्माणको मापदण्ड तय गर्नुका साथै जम्मा सदस्य संख्याको १० प्रतिशतको मात्र प्रादेशिक मन्त्रिमण्डल बनाउने सहमति गरेको थियो ।

दुवै दलले प्रदेश सरकार निर्माणमा अनौपचारिक संवाद प्रक्रिया अघि बढाएको र सहमतिमै आजको बैठकले त्यसको टुंगो लगाउने कार्यदल सदस्य पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्