यसकारण बालबालिका र युवामा बढी हुन्छ हाड क्यान्सर

काठमाडौं । डा. विक्रान्त मेहेता
रेजिडेन्ट, अर्थोपेडिक सर्जन
हाडको क्यान्सर दुई प्रकृतिका हुन्छन्, फैलने र नफैलने । नफैलने क्यान्सरले हाडलाई त्यति धेरै असर पुर्याउँदैन । या भनौँ कम खतरनाक हुन्छ । तर, फैलने क्यान्सरले शरीरका पूरै हाडलाई हानि पुर्याउँछ । यसलाई घातक ट्युमर पनि भन्ने गरिन्छ । यस्तो ट्युमर स्तन, लङ्स, प्रोस्टेटलगायतका भागमा समेत फैलने गर्छ ।

हाड क्यान्सरका कारण
विशेषगरी हाडको क्यान्सर बालबालिका र युवामा बढी देखिन्छ । वयस्कहरूमा अन्य ठाउँको क्यान्सर हाडमा फैलने गर्छ । शरीरका कुनै भागमा क्यान्सर देखिएमा त्यो फैलिएर हाडसम्म पुग्ने गर्छ ।
विभिन्न विकिरणका कारण पनि हाडको क्यान्सर हुन्छ । रेडिएसन थेरापीका कारणसमेत हाडमा क्यान्सर देखिन्छ ।
यस्तो समस्याबाट केमोथेरापी गर्ने र केमोथेरापीसँगै औषधिको प्रयोग गर्नेहरू पनि सजग रहनुपर्छ । किनभने, यसकारण पनि हाडको क्यान्सर हुन सक्छ ।
हाडमा हुने क्यान्सरको अर्को कारण भनेको जिनमा आउने खराबी र परिवर्तन हो ।
हाडमा चोट लागेर इम्प्लान्ट गरिएको ठाउँमा क्यान्सर देखिने सम्भावना हुन्छ । त्यसैले यस्तो ठाउँको वेलावेला जाँच गराइराख्नुपर्छ । हाडको क्यान्सर वंशाणुगत पनि हुन्छ ।

यस्ता लक्षणपछि
हड्डीको क्यान्सर भएमा तौल
घट्न जान्छ ।
क्यान्सर लागेको ठाउँमा अत्यधिक दुखाइ हुन्छ । यस्तो दुखाइ लामो
समयसम्म रहन्छ ।
हड्डीको क्यान्सर भएकाले त्यति धेरै शारीरिक श्रम गर्न पनि सक्दैनन् । किनकि, श्रमको वेला पनि उनीहरूमा दुखाइ हुन्छ ।
कुनै दुखेको ठाउँमा छाम्दा छालाको डल्ला अनुभव भए पनि हड्डीको क्यान्सर भएको मान्नुपर्छ ।
क्यान्सर भएको ठाउँको हाड
सुन्निदै जान्छ ।
यदि क्यान्सर लागेको भएमा शरीरमा हुने रक्तसञ्चार र नसालाई असर पार्ने गर्छ । त्यसैले क्यान्सर भएको ठाउँमा अत्यधिक झमझमाउने पनि गर्छ ।
क्यान्सरले मानिसलाई कमजोर बनाउँछ । अझ क्यान्सर भएको ठाउँमा कमजोर भएको महसुस हुन्छ । त्यस्तै, यस्तो क्यान्सरले शरीरमा रगतको मात्रालाई पनि कम गराउँदै लैजान्छ ।

कसरी थाहा पाउने ?
माथिका लक्षण देखिएमा क्यान्सर भएको थाहा पाउन सकिन्छ । एक्स–रे, बोन स्क्यानबाट कुन भागमा क्यान्सर छ भन्ने कुराको जानकारी हुन्छ ।
कम्प्युटेड टोमोग्राफी, सिटी–स्क्यान, एमआरआई, पिइटी, एन्जियोग्रामलगायतका माध्यमबाट यस्तो क्यान्सर पत्ता लगाइन्छ । यस्तो माध्यमबाट रगत र नसामा भएको क्यान्सर पनि पत्ता लगाइन्छ ।

उपचार विधि
हाड क्यान्सरको उपचार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था र उमेरमा निर्भर गर्छ । कतिपयलाई अप्रेसन गरी क्यान्सरको भाग काटेर फालिन्छ । केमोथेरापीबाट पनि यस्तो क्यान्सरको उपचार गर्न सकिन्छ ।
त्यस्तै, हाड क्यान्सरको उपचार रेडिएसन थेरापी, हाई इनर्जी रेडिएसनका माध्यमबाट क्यान्सरको कीटाणुलाई कम गर्न सकिन्छ । क्रियो सर्जरी गरेर क्यान्सरमा हुने सेललाई कन्ट्रोल गरिन्छ ।
पहिले क्यान्सर भएर उपचार भइसकेको छ भने समय–समयमा फलोअपमा जानुपर्छ । वेलावेलामा रगत जँचाउनुपर्छ । बालबालिकामा क्यान्सर छ भने अन्य भागमा पनि क्यान्सर हुन सक्छ । त्यसैले समय–समयमा जाँच गराउनुपर्छ ।

क्यान्सरका ३ प्रकार : 

ओस्टिओसार्कोमा बोन क्यान्सर
यस्तो क्यान्सर १० देखि १९ वर्ष उमेरसमूहका मानिसमा देखिन्छ । अधिकांश पुरुषमा देखिने क्यान्सर हो यो । यस्तो क्यान्सर घुँडा र तिघ्राको हड्डीमा देखिन्छ ।

कोन्डोसार्कोमा बोन क्यान्सर
यस्तो क्यान्सर ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्छ । यो हिप र कम्मरमा देखिने क्यान्सर हो । यस्तो क्यान्सर लागेमा हिप र कम्मरको हाड निकै ठूलो देखिन्छ । २० वर्षभन्दा कम उमेरका पाँच प्रतिशत मानिसमा यस्तो क्यान्सर देखिने
सम्भावना हुन्छ ।

इविङसार्कोमा बोन क्यान्सर
चारदेखि १५ वर्षसम्मका उमेर समूहमा देखिने क्यान्सर हो, इविङसार्कोमा बोन क्यान्सर । प्रायः पाखुराको ठुलो हड्डी र खुट्टामा यस्तो क्यान्सर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्