सुदूरपश्चिममा कोरोनाः संक्रमितको संख्या २ हजार ३६६ पुग्यो
काठमाडौ., असार १९। सुदूरपश्चिम प्रदेशमा थप ३३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या २ हजार ३६६ पुगेको छ । बिहिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ३३३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै ५ सय ६१ जना संक्रमित निको भई घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३०५, वीर अस्पताल काठमाडौं प्रयोशालामा २ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
पुष्टि भएकामध्ये कैलाली १३८ पुरुष, ४४ महिला, कञ्चनपुर २६ पुरुष, ८ महिला, अछाम ३० पुरुष, ७ महिला रहेका छन् । त्यसैगरी डोटी ३६ पुरुष, ५ महिला, बझाङ्ग २६ पुरुष, ११ महिला, बैतडी १ पुरुष र डडेल्धुरा १ पुरुष रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म २० हजार ९९६ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १८ हजार ६३ मा नेगेटिभ आएको उनले बताए । त्यसमध्ये ३ हजार ६७९ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी विधिबाट १ लाख १३ हजार ८९३ जनामा परीक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका २८८, बैतडीका २३६, बझाङ्गका १२७, बाजुरा ३३७, डडेल्धुराका २३०, दार्चुलाका १७, डोटीका ४७३, कैलालीका ८७४ र कञ्चनपुरका ३५१ गरि २ हजार ९३३ रहेका छन् । जसमा महिला ६७९ र पुरुष २ हजार २५४ संक्रमित फेला परेका हुन् ।
क्वारेन्टिनमा ७ हजार ५३१ पुरुष र २ हजार १९५ महिला रहेका छन् । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद १६ र संक्रमित ११२ गरी १२८ जनाको उपचार भइरहेको छ । ६८० जना भने सामान्य उपचारपछि घर गइसकेका छन् । हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १२, टिकापुरमा ४५, महाकालीमा २१, अछाममा १०, डोटी २, बाजुरा २ र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको कार्कीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्