सरकार गठन भन्दा पहिला पार्टी एकता : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन् ।
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

उनले भने–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले भने

उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताए ।

देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गरे ।
अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको उनले बताए ।
उनले अहिलेको निर्णयबाट नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको धारणा राखे ।

माडीको बाँदरमुढे घटनामा मृत्यु भएकालाई शहीद घोषणा गरिएको विषयमा टिप्पणी गर्दै उनले जस्को नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताए ।

अध्यक्ष दाहालले भने– “त्यसको एउटा मापदण्ड बनाएर त्यो भित्र रहेर मात्रै शहीद घोषणा गर्नु राम्रो हुन्छ ।” यद्यपि उनले शहीद घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति भने नभएको बताए ।

मधेशवादी दल पनि अब बन्ने वाम गठबन्धनको सरकारमा सहभागी हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्