स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौं, असार १२ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीले ठक्कर दिंदा तीन जनाको ज्यान गएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको हो ।

पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पैदल यात्री महिला र मोटसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले जानकारी दिए ।

झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४च ९६४३ नम्बरको स्कारपिओले पैदल हिंडिरहेकी महिलालाई ठक्कर दिएको हो । त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका– ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको मृत्यु भएको हो ।

दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको थियो । अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुलेको छैन । गुरुङको नोबेल मेडिकल कलेज र लिम्बूको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्