संक्रमित पूर्णरुपमा निको भएपछि मात्र बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ९ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्चले कोरोना संक्रमित पूर्ण रुपमा संक्रमण मुक्त भएपछि मात्रै बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलाशले पूर्णरुपमा निको भएको सुनिश्चिता गरेर मात्रै बिरामीलाई घर पठाउन आदेश दिएको हो ।

स्वास्थ्य उपचारलाई संविधानले मौलिक हक अन्तर्गत राखेकोले सरकारले आफ्ना नागरिकको पूर्णरुपमा उपचार गर्ने दायित्वबाट भाग्न नमिल्ने आदेशमा उल्लेख छ ।

जेठ २० गते सरकारले उपचारमा रहेका कोरोना संक्रमितलाई लक्षण नदेखिएका आधारमा डिस्चार्ज गर्ने र उनीहरुको पीसीआर परीक्षण गर्न नपर्ने निर्देशिका जारी गरेको थियो ।

सर्वोच्चले उक्त निर्देशिकाको दफा ६ मा उल्लेखित लक्षण नभएका बिरामीलाई पीसीआर परीक्षण बिनै घर पठाउने निर्देशन हाल कार्यान्नयन नगरी पीसीआर परीक्षणपछि रोग मुक्त भएको सुनिश्चितता भए मात्रै घर पठाउन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्