वैदेशिक रोजगारीमा मृत्यु भएका २४ नेपालीको शव स्वदेश ल्याइयो (सुचिसहित)

काठमाडौं, असार ५ । खाडी मुलुकमा काम गर्न गएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइएको छ ।कतार एअर वेजले कतारबाट २० वटा शव चाटर्ड विमानबाट ल्याएको हो ।उक्त विमानमा ४३ जना अन्य नेपालीहरु पनि रहेका थिए ।

यस्तै जजिरा एअरलाइन्सको विमानले कुवेतबाट २ जनाको शव ल्याएको छ ।यसैगरी दुबइबाट आएको नेपाल एअरलाइन्सको विमानले १४८ यात्रुसहित एउटा शव ल्याएको छ ।उता, हिमालयन एअरलाइन्सको विमानले साउदीबाट एक जनाको शव ल्याएको छ ।यी शवहरु विभिन्न कारण ६ महिनादेखि उतै रोकिएका थिए ।

शवहरु मध्ये केही विमानस्थलबाटै आफन्तको जिम्मा लगाइएको छ भने बाँकी शव सरकारले उनीहरुको घर पुर्‍याउने छ ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो संख्यामा एकैपटक नेपाल ल्याइएको पहिलो पटक हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट कपिलवस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव ल्याइएको हो ।

यसैगरी मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले ल्याएको हो । यस्तै कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव ल्याइएको हो ।
युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्