भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक्कासी बढ्यो , एकैदिन २ हजारको मृत्यु

काठमाडौं, असार ३ । भारतमा २४ घण्टाभित्र कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधवार हजारको संख्यामा आएको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले बुधवार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ ।

अघिल्लो दिन मंगलवार बिहान उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ३८० जनाको मृत्यु भएको थियो । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ११ हजार ९०३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ५५ हजार २२७ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ८६ हजार ३९५ जना संक्रमणमुक्त भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसका कारण मृतकको संख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

भारतमा प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १३ हजार ४४५ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये कुल ५० हजार ५७ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५७ हजार ८५१ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना रहेका छन् । राजधानी दिल्लीमा ४४ हजार ६८८ जना संक्रमित भएका छन् । राससरएएनआई

प्रतिक्रिया दिनुहोस्