कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या चार लाख नाघ्यो
काठमाडौं , जेठ २५ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख १२१ पुगेको छ ।
मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा बढी एक लाख नौ हजार ८०२ पुगेको छ । त्यस्तै बेलायतमा ४० हजार ५०८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ हजार ९३० पुगेको छ ।
त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ६९ लाख नाघेको छ । अहिलेसम्म विश्वभर ६९ लाख १३ हजार ६०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सबैभन्दा बढी अमेरिकामा १९ लाख २० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ब्राजिलमा ६ लाख ७२ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ६७ हजार नाघेको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३० लाख ९५ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्