कोरोना जित्नेहरु थपिँदै, आज १९ जना डिस्चार्ज भए

काठमाडौं, जेठ २५ । प्रदेश नम्बर ५ मा कोरोना संक्रमितको संख्या वृद्धिसँगै कोरोना जितेर घर फकर्नेहरु पनि दैनिकजसो थपिँदै छन् । आइतबार प्रदेश नम्बर ५ का १९ जनाले कोरोना जितेका छन् ।

जसअनुसार बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको हो ।

कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाई गरेका थिए । उनले विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको बताए।

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका रहेका छन् । उनीहरु संक्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते बुटवल–१० स्थित बुटवल आइसोलेशन सेन्टरमा भर्ना हुन आएका थिए । त्यसरी भर्ना भएकामध्ये सात जना भारतबाट फर्किएर आएकाहरु हुन् ।

यस्तै कपिवलस्तुका एक जना वडअध्यक्ष र आठ वर्षीया बालिका पनि संक्रमित थिए । उनीहरु पनि कोरोना परास्त गर्दै डिस्चार्ज भएका छन् ।

अब आइसोलेशनमा ३२ जना रहेका छन् । उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने छ ।

यस्तै आजै दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
दाङका दुई जना सहित १० जना आइतबार घर फर्किएका अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्