राष्ट्रियसभा सदस्य निर्वाचन : दर्ता भएका उम्मेदवारमाथि आज दावी विरोध

काठमाडौ । राष्ट्रियसभा निर्वाचनकालागि दर्ता भएको उम्मेदवारीमाथि आज दावी विरोध गर्ने कार्यसूचि रहेको छ ।

आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनकालागि दलहरुले हिजो उम्मेदवारी दर्ता गराएका थिए ।उम्मेदवारको उम्मेदवारी माथी आज बिहान १० बजेदेखि भोली बेलुका ५ बजेसम्म उजुरी गर्न सकिने निर्वाचन आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिए।

आज र भोली आउने उजुरी माथी १३ गते जाचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगले सातै प्रदेशका उच्च अदालत रहेकै स्थानमा यसअघि नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि उम्मेदवारी मनोनयन दर्ता गरिसकेको छ ।

आगामी माघ २४ गते हुने मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि हिजो भएको मनोनयन दर्ताकै क्रममा १७ जना निर्विरोध बनेका छन । उनिहरु निर्विरोध निर्वाचत भएको भएपनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन १५ गतेमात्रै हुने भएकोले औपचारीक घोषणाभने हुन वाँकी रहेको छ ।

सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सांसदहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८र८ वटै सिटमा चुनाव हुनेछ ।

राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्