काठमाडौं उपत्यकासहित देशभरी नै आज चिसो बढ्यो ,उच्च हिमाली भेगमा हिमपातको संभावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरी नै आज चिसो बढेको छ । हिजो पानी परेपछि देशभरी नै आज न्यूनतम तापक्रम घटेर चिसो बढेको हो । केही दिन अघिसम्म ६ डिग्रीसम्म पुगेको काठमाडौंको न्यूनतम आज बिहान २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

पानी परेकाले एक दुई दिन चिसो भएपनि बिस्तारै न्यूनतम तापक्रम बढ्ने उनले बताए। गएको २४ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा १२ दशमलव ५ मिलिमिटर पानी परेको छ । काठमाडौंमा ६ दशमलव १ मिलिमिटर पानी परेको छ । तर यो पानी हिँउदे वर्षाको लागि पर्याप्त भने नभएको मौसमविद् रिमालले बताए ।

हिजो पानी पारेको मौसमी प्रणाली नेपालबाट बाहिर गैसकेकाले आज देशभरीकै मौसम सामान्यतया सफा हुने मौसमविदले बताएका छन् । अहिले धेरै ठाउँमा लागेको हुस्सु र कुहिरो घाम लागेपछि बिस्तारै हट्ने मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उच्च हिमाली भेगमा भने आज पनि हिमपातको संभावना छ ।

प्रतिक्रिया दिनुहोस्