जोखिम हुन नदिन बागलुङका चार स्थानीय तह सिल
काठमाडौं, जेठ ११ । संक्रमण बढ्दै जान थालेपछि बागलुङका चार स्थानीय तह सिल गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि बागलुङका चार स्थानीय तह सिल गरिएको हो । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको बताएको छ ।
स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।
बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । भारतबाट आउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताए ।
भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन् । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् । यसैले पनि कोरोनाको जोखीम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्