तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु 

काठमाडौं । बहुप्रतिक्षित अमलेखजन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु भएको छ ।

वीरगन्ज भन्सार कार्यालयबाट पहिलो लटका आधा दर्जन गाडीले ल्याएका कालो स्टिल पाइप मंगलबार जाँच गरिएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार पाइप लाइन परियोजना निर्माणको जिम्मा पाएको इन्डियन आयल कर्पोरेसनले पाइप बोकेका आधा दर्जन लरीको जाँच गराएको छ । सबै पाइप बिनाभन्सार शुल्क जाँच गरी पठाइएको उनले बताए । ‘नेपाल र भारतबीचको दुई देशीय सम्झौताअनुसार यो नाकाबाट भित्रिने पाइपलाइन निर्माणमा प्रयोग हुने सामानमा भन्सार शुल्क लाग्दैन,’ यादवले भने, ‘अर्थ मन्त्रालय र भन्सार विभागले यस सम्बन्धमा आपसी समन्वय गरेका छन् ।’

पहिलो लटमा २ हजार ७ सय २४.२३ मिटर पाइप जाँचका लागि कार्यालयमा निर्देशन आएको उनले बताए । मंगलबार १ करोड २९ लाख ६८ हजार भारतीय रुपैयाँ (भारु) बराबरको पाइपको जाँच गरिएका छ । यो लटमा १ करोड ६६ लाख भारु बराबरको पाइपको जाँच गर्ने निर्देशन रहेको र बाँकी पाइपसम्बन्धी निर्देशन क्रमशः आउने उनले बताए ।

भारत महाराष्ट्रको सिमलेस लिमिटेडमा उत्पादित पाइप यो परियोजनामा प्रयोग गरिँदै छ। वीरगन्ज भन्सार पारि जाँच्ने प्रक्रियाका लागि थप ७ वटा पाइप बोकेका लरीहरू प्रतीक्षारत छन् । तीमध्ये एक लरीका चालक शिव कुमारले आफूहरू मुम्बईस्थित पाइप उद्योगबाट जनवरी १४ तारेखबाट नेपालका लागि हिँडेको बताए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्