राष्ट्रियताको र लोकतन्त्रको लागि पार्टी प्रतिबद्ध छः अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मुलुकमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । विभिन्न शक्तिका बढ्दै गएको हस्तक्षेपले सामाजिक सद्भाव कचमचिएको र राष्ट्रिय एकता संकटमा परेको अहिलेको अवस्थामा देशमा राजनीतिक स्थिरता, समन्वयात्मक सम्बन्धको खाँचो रहेको उनले औँल्याए ।

अध्यक्ष राणाले आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावपछि मुलुकमा विकास र जनताको समृद्धि कायम गर्न सकिने बताउँदै उनले भने “मुलुकमा दिगो शान्ति र निर्वाचनको सुनिश्चितताका लागि राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी भएको छ ।”

संविधानअनुसार चुनाव सम्पन्न भएपछि लोकतन्त्रको सुदृढीकरण भई जनताको समृद्धिको चाहनालाई मूल लक्ष्यका साथ पूरा गर्न सकिने उनले बताए ।

अध्यक्ष राणाले पार्टीले वैचारिक रुपमा निकट रहेका दलसँग सहकार्य गरी आगामी चुनावमा सहभागी हुने जानकारी दिँदै पार्टी सैद्धान्तिक रुपमा नजिक अन्य दलसँग वृहत प्रजातान्त्रिक एकताका लागि गृहकार्यमा जुटिरहेको जानकारी दिए ।
उनले विगतमा एकता अधिवेशन भएपछि चुनाव चिन्ह हलो राख्ने आन्तरिक सहमति भएकोमा त्यो पूरा हुन नसकेकोले पार्टी विभाजन हुन पुगेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्