प्रदेश २ का सबै जिल्लामा थप कडाइ, सङ्क्रमणमा बृद्धि
काठमाडौं , जेठ ३ । प्रदेश नं २ का आठवटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमण प्रभावित बनेका हुन् । सो जिल्लामा आज पहिलोपटक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा स्वाब परीक्षण गरिएका मध्ये यस प्रदेशका चार जनामा सो सङ्क्रमण पुष्टि भएको सो निर्देशनालयले जनाएको छ । सिरहामा एक, पर्सामा दुई र सर्लाहीका एकसमेत चार जना भएका निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।
पछिल्लो तथ्याङ्कसँगै प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १०८ पुगेको छ । ती मध्ये पर्साका सर्वाधिक बढी ९१, धनुषाका चार, रौतहट, बारा र सर्लाहीका तीन–तीन, महोत्तरीका दुई र सप्तरी र सिरहाका एकरएक छन् ।
कोभिड–१९ रोकथाम अभियानअन्तर्गत यस प्रदेशमा शुक्रबारसम्म चार हजार ९८० को स्वाब सङ्कलन गरिएको छ । गतबुधबार, बिहीबार र शुक्रबार गरी तीन दिनभित्र एक हजार ४४ जनाको स्वाब सङ्कलन भएको उनले बताए । अहिलेसम्म स्वाब सङ्कलन गरिएमध्ये तीन हजार ९२४ को जाँच नतिजा आइसकेको र त्यसमा १०८ पोजेटिभ पाइएका हुन् । एक हजार ५२ जनाको नतिजा आउन बाँकी छ ।
सीमा क्षेत्रको आवतजावत मात्र नभएर एउटै पालिकाका एक बस्तीबाट अर्को बस्तीमा पनि आवागमनमा कडाइ गरिएको छ । अनावश्यक हिँडडुल गर्ने जोसुकैलाई कारवाही गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लामा निर्देशन गरेपछि थप कडाइ बढाइएको हो ।
प्रतिक्रिया दिनुहोस्