कोरोना संक्रमणको दर अझै बढ्ने , सबै जिल्ला उत्तिकै जोखिममा

काठमाडौं, जेठ १ । स्वास्थ्य मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको दर अझ बढ्नसक्ने जनाएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार भएको छलफलमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सबै जिल्ला उत्तिकै जोखिममा रहेका कारण धेरै सावधानी अपनाउन जरुरी रहेको बताए ।

१५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएको भन्दै उनले जटिल स्वास्थ्य समस्या भएकाहरु भने नभेटिएको बताए ।

हाल देशका नौओटा अस्पतालहरुबाट संक्रमितहरुको उपचार भइरहेको र भारतलगायत विभिन्न पाँच देशबाट संक्रमितहरु नेपाल आएको उनले जानकारी दिए ।

परीक्षण गर्ने ‘आरडीटी’ र ‘पीसीआर किट’हरु अभाव नभएका कारण परीक्षणको दायरा बढाउँदै लैजाने भन्दै डा। देवकोटाले प्रतिदिन १८ स्थानबाट तीन हजार व्यक्तिको परीक्षण गर्न सकिने क्षमता रहेको बताए ।

छलफलमा सांसदहरुले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका छन् ।

उनीहरुले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशलाई कडाइ गर्नुपर्ने बताएका थिए ।

छलफलमा सांसद गगन थापा र जीवनराम श्रेष्ठले असारसम्म करिब पाँच लाख व्यक्तिको परीक्षण गरिसक्ने गरी तयारी गर्न मन्त्रालयलाई सुझाव दिए ।

बजेटमा जिल्ला अस्पतालहरुलाई सुधार गरी ५० ‘बेड’सम्मको अस्पताल बनाउन र प्रत्येक अस्पतालमा सरुवारोग परीक्षण ‘युनिट’ राख्नसमेत सांसदहरुले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्