कोरोनालाई जितेर खुशी हुँदै घर फर्किइन् चितवनकी संक्रमित महिला

काठमाडौं, बैशाख ३१ । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् ।

दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो ।

वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । आमालाई लिएर उनी पनि बुधबार घर फर्किएका छन् । उनीहरुलाई लिन राप्ती नगरपालिका प्रमुख प्रभा बराल एम्बुलेन्स लिएर अस्पताल आएकी थिइन् ।

अस्पतालका तर्फबाट बिदाइ गर्दै फूल, गुच्छा र डिस्चार्ज दिएपछि खुशी हुँदै आमाले आफूलाई कोरोना भएको भनिए पनि शरीरलाई भने केही नभएको बताए । उनले भने, “एकदमै राम्रो छ । आउँदा पनि यस्तै थियो अहिले पनि त्यस्तै छ ।” उनले थपे, “सबैले मलाई कोरोना भयो भने मलाई त केही पनि भएको छैन ।”

अस्पतालको सेवाप्रति उनी निकै खुशी हुँदै नियमित रेखदेखमा रहेका नर्सिङ कर्मचारीलाई उहाँले विशेष धन्यवाद दिए । बिदाइ गर्दै अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले उनलाई शुभकामना दिए । स्वास्थ्यको ख्याल गर्न अधिकारीको सुझाव थियो । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दुई सातासम्म घरमा छुट्टै बस्न अनुरोध गर्दै केही असजिलो भए अस्पताल आउन आग्रह गरे ।

टेलिफोनबाट पनि सामान्य समस्या समाधान हुने बताए । सो अवसरमा नगरपालिका प्रमुख बरालले अस्पतालप्रति विशेष धन्यवाद दिँदै उनीहरुको रेखदेखमा नगरपालिकाले ध्यान दिने बताइन् । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकप्रति बरालले आभार प्रकट गरीन् ।

कोरोना जितेर फर्कँदै गरेकी आमाको बिदाइमा मेडिसिन विभाग प्रमुख डा। प्रकाश खतिवडा, कोरोना क्लिनिकल संयोजक डा। प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, सूचना अधिकारी लीलाधर पौडेल, आइसोलेसन विभाग प्रमुख रुमा देवकोटालगायतको उपस्थिति थियो ।

यसअघि २७ वर्षीय छोराले सङ्क्रमणमुक्त भएपछि अस्पताललाई धन्यवाद दिएका थिए । आज पनि उनले त्यसैलाई दोहोर्‍याएर आमासँगै घर फर्किएका हुन् ।

उनीहरु राप्ती नगरपालिका वडा नं ८ का हुन् । चैत ३ गते बेलायतबाट काठमाडौँ आएर ५ गते राप्ती नगरपालिकास्थित घर आएका उनीहरुमध्ये आमाको वैशाख ३ गते र्‍यापिड डाइग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो ।

आमामा शङ्कास्पद देखिएपछि आमा र आमासँगै आएका दुई छोराको समेत पिसीआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमित राखिएको अस्पतालको क्याविनका छ कोठालाई निर्मलीकरण गरेर प्रयोगमा ल्याइने छ ।

भरतपुर अस्पतालले कोरोना आशङ्का गरिएका बिरामीको उपचार सरकारी भरतपुर अस्पताल र कोरोना अस्पतालमा गर्दै आएको छ भने आफ्नै कोरोना प्रयोगशालामा नियमित परीक्षण गरिरहेको उनले जानकारी दिए । जिल्लामा ती आमाछोरा सङ्क्रमणमुक्त भएसँगै कोरोनाका सङ्क्रमित छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्