३२ सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र
काठमाडौं । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति ९रु तीन हजार २००० तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् ।
अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् ।
भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु शुक्रबार राति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् ।
महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए । “गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौँ, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ”, उनले भने, “खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको छ ।”
पिथौरागढबाट हिँडेर सीमानाका पुगेका उनीहरु आजससम्म पनि भोकै रहेका छन् । कमाएको पैसा सबै सकिएपछि भोकै रातदिन काट्नुपरेको सागरको भनाइ छ । उद्धारका लागि प्रशासन र सम्बन्धित पालिकालाई गुहार्दासमेत केही पहल नभएको उनीहरुको गुनासो छ ।
यसअघि बिहीबार र शुक्रबार गरी सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ जनाको बैतडीबाट उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्