भारतले संसारभर रहेका आफ्ना नागरिक फिर्ता लैजाँदै, गोवामा रहेका नेपालीलाई फिर्ता पठाउने

काठमाडौ, वैशाख २४ । भारतले संसारका विभिन्न मुलुकमा अड्किएका आफ्ना नागरिकलाई स्वदेश ल्याउने भएको छ । मे ७ देखि एयर इन्डियाका जहाज पठाएरस्वदेश नफर्की नहुने अवस्थाका नागरिकहाई देशमा ल्याउन लागेको हो ।

भारत सरकारले यसलाई विदेशबाट भारतीय नागरिकको अहिलेसम्मकै ठूलो उद्धार अभियान भनेको छ । पहिलो चरणमा झन्डै १५ हजार भारतीयलाई स्वदेश ल्याइने जनाइएको छ । उनीहरूलाई ल्याउन एयर इन्डियाले ६४ वटा उडान गर्ने छ ।

जहाजमा फर्कनेहरूले भाडा आफैंले तिर्नु पर्ने छ । अमेरिकाबाट भारत आउनेले जनही १ लाख ६० हजार रुपैयाँ तिर्नु पर्ने जनाइएको छ ।

यसैगरी भारतको गोवामा रहेका विदेशी कामदारलाई फिर्ता पठाउने तयारी पनि गरिएको छ । त्यहाँ रहेका नेपाली कामदारलाई पनि फर्काइने मुख्यमन्त्री प्रमोद सावन्तले जनाएका छन् । मुख्यमन्त्री सावन्तले स्वदेश फर्कन चाहने नेपालीहरूलाई अधिकारीसमक्ष आफ्नो नाम दर्ता गर्न भनेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

पछिल्लो समय भारतका विभिन्न शहरबाट रेलमा आप्रवासी कामदारलाई फर्काउन थालिएको छ । नेपालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय नगरेकाले उनीहरुका हकमा के हुन्छ निश्चित भएको छैन ।

मलेसिया, कतार, साउदी अरब, युएई, कुवेत, बहराइन र ओमानमा रहेका १ लाख २७ हजार नेपाली तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्