बैतडीमा क्वारेन्टाइनमा लैजाँदै गर्दा १ जनाको मृत्यु

काठमाडौं, बैशाख २१ । बैतडीमा एक जना व्यक्तिलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको छ । केही दिन अगाडि भारतबाट आएका पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बाटोमा मृत्यु भएका लुहारको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ ।

रिपोर्टपछि मात्रै जुनेमा कोरोना भएरनभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । रिपोर्ट एकरदुई दिनभित्रै आउने उनले बताए । भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिनुभएको थियो । एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उहाँको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो । जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ ।

मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्