कुन प्रदेशमा कसको दाबी ? नेताहरुले मुख्यमन्त्रीका लागि दौडधुप थाले

काठमाडौं, । प्रदेश प्रमुख र प्रदेशसभाका सदस्यहरूले शपथ लिएसँगै नेताहरूले मुख्यमन्त्रीकालागि दौडधुप सुरु गरेका छन् । प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशमा बहुमत ल्याएको कम्युनिष्ट गठबन्धनका नेताहरुले दौडधुप त्रीव पारेका हुन् ।

कम्युनिस्ट गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य समेत सुरु गरेका नेताहरुले बताएका छन् ।

प्रदेश १ मा मुख्यमन्त्रीका लागि चर्चामा रहेका एमाले नेताहरू भीम आचार्य र पोलिटब्युरो सदस्य तथा प्रदेशका सह–इञ्चार्ज शेरधन राईले लबिङ सुरु गरेका छन् ।

प्रदेश २ मा मुख्यमन्त्री संघीय समाजवादी फोरम र उपमुख्यमन्त्री तथा सभामुख राजपाले लिने आन्तरिक सहमति छ । जसअनुसार फोरमका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दी र कोषाध्यक्ष विजय यादवले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । राजपाबाट उपमुख्यमन्त्रीका रूपमा सरकारको नेतृत्व सप्तरीका नवलकिशोर साह, बाराका जितेन्द्र सोनल र सर्लाहीका रामनरेश रायमध्ये एकले गर्नेछन् । ।

यता, ३ नम्बर प्रदेशमा एक्लै सरकार बनाउने हैसियतमा रहेको एमालेले कसलाई मुख्यमन्त्री उम्मेदवार बनाउने चासोको विषय बनेको छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई यो प्रदेशको मुख्यमन्त्रीका रूपमा हेरिएको छ भने अन्य दुई नेता पशुपति चौलागाईं र राजेन्द्र पाण्डेले पनि आफूहरू मुख्यमन्त्री दाबीकै लागि प्रतिनिधिसभा छाडेर प्रदेशसभामा निर्वा्चित भएको बताई रहेका छन् ।

प्रदेश ४ को प्रदेश सरकारको मुख्यमन्त्री पदमा एमालेका दुई शीर्ष नेताबीच रस्साकसी छ । तनहुँका किरण गुरुङ र केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख लमजुङका पृथ्वीसुब्बा गुरुङको दाबेदारी छ ।

एमाले स्थायी समिति सदस्य एवं दाङ २ ‘क’ बाट प्रदेशसभा सदस्य शंकर पोखरेल संसदीय दलको नेता चयन भएपछि अब मुख्यमन्त्री बन्ने निश्चितजस्तै छ ।

उता– प्रदेश ६ मा पनि एमाले एक्लै सरकार बनाउन सक्ने हैसियतमा रहेको भन्दै प्रदेश संसदीय दलको नेतामा यामलाल कँडेल र प्रकाश ज्वालाको दाबेदारी छ भने माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र झपट बोहराको नाम मुख्यमन्त्रीका रूपमा चर्चामा छ ।

प्रदेश ७ को पहिलो मुख्यमन्त्री हुने सम्भावनाले आदिवासी थारू समुदायमा उल्लास छाएको छ । वाम गठबन्धनको बहुमत रहेको प्रदेश ७ मा मुख्यमन्त्रीमा माओवादी केन्द्रका वीरभान चौधरीको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्