उदयपुरको पछिल्लो परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, बैशाख १३ । कोरोनाको केन्द्रको रुपमा देखिएको उदयपुरको पछिल्लो स्वाब परीक्षणमा एक सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। जमातीसँग जोडिएको भनिएको उदयपुरको चौदण्डीगढी नगरपालिका शिबाईका ५८, त्रियुगा नगरपालिका १ मोथियाईका २७ र २० स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

यो रिपोर्टसँगै मस्जिदमा रहेका भारतीय जमातीबाट कोरोना नभित्रिएको ठहर प्रदेश सरकारले गरेको छ। सरकारले भुल्के बस्तीमा भारत र दुबईबाट आएका तीन युवामध्येबाट कोरोना भित्रिएको निष्कर्ष निकालेको छ।

प्रदेश जनस्वास्थ्यको टोलीले बिहीबार शिबाई र मोथियाईवासीको स्वाब संकलन गरेको थियो। शुक्रबार उनीहरुको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए।

अघिल्लो शुक्रबार र शनिबार उदयपुरको नुरी मस्जिदमा बसेका १२ भारतीय र चार नेपालीमा कोरोना पुष्टि भएको थियो। त्यसपछिको परीक्षणमा मस्जिद आसपासका थप १२ जनामा पनि कोरोना देखिएको थियो। सरकारले कोरोनाको स्रोत पहिचान गर्न मस्जिदमा रहेका जमाती बसेको शिबाई र मोथियाई क्षेत्रको स्वाब संकलन गरेकोमा नेगेटिभ आएको हो।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ मा परीक्षणको दर बढाइएको छ। प्रदेश सरकारका अनुसार शुक्रबारसम्म कुल ५ हजार ६६ जनाको कोरोना परीक्षण गरिएकोमा पीसीआर विधिबाट ९ सय ६ जनाको परीक्षण गर्दा उदयपुरमा २८, भोजपुरमा १ र झापामा १ जनामा कोरोना देखिएको छ। प्रदेशमा ४ हजार १ सय ६० जनाको र्यापिड टेष्ट किटबाट परीक्षण गरिएको छ।

प्रदेशमा विराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याबबाट दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। कोशीमा दैनिक १ सय र प्रतिष्ठानको ल्याबबाट दैनिक १२ जनाको स्वाब परीक्षण गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्