भारतमा कोरोनालाई जिते सुदूरपश्चिमका १० जनाले : अस्पतालबाट डिस्चार्ज

काठमाडौं , बैशाख १३ । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ ।

भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् ।
यसैबीच भारतमा रहेका सुदूरपश्चिमका १० जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । एक बालकको भने अस्पतालमा उपचार भइरहेको छ ।

अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङंको चैनपुरी घर भइ भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परिवारका तीनसदस्यमा कोरोना पुष्टि भएकोमा १० जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने उनका छोराको अहिले उपचार भइरहेको छ । अछामको चौरपाटी गाउँपालिका ५, को एकै परिवारका ८ सदस्य पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । भारतमा अहिलेसम्म पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८१७ जनामा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै गुजरातमा दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा दुई हजार ५१४ पुगेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म एक हजार ६२१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । बिहारमा पनि २२३ जनामा भाइरसको संक्रमण भेटिएको छ ।

अहिलेसम्म भारतमा ७७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा अहिलेसम्म ३०१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा १२७ जनाको मृत्यु भइसकेको छ भने मध्य प्रदेशमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने बिहारमा दुईजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्