चीनलाई सफलता : कोरोनाविरुद्धको खोप बाँदरमा सफल, मान्छेमा परीक्षण जारी
काठमाडौं , बैशाख १२ । विश्वव्यापी त्रास सृजना गरेको प्राणघात कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप बाँदरमा सफल भएको छ । चीनको सिनोभ्याक बायोटेक कम्पनीले बनाएको खोपले बाँदरलाई कोरोनाभाइरसबाट बचाएसँगै यसको परीक्षण सफल भएको दाबी गरिएको छ ।
अनुसन्धानकर्ताहरुले एक बढी डोज र अर्को कम डोजको खोपहरु ८ वटा बाँदरमा प्रयोग गरेको र यसको तीन हप्तापछि ती बाँदरहरुको फोक्सोमा कोरोनाभाइरस राखिएको थियो । यसरी कोरोना संक्रमण गराइएको एक हप्तापछि बाँदरको अवस्थाका बारेमा परीक्षण गरियो । तर, परीक्षणको नतिजामा कोरोना संक्रमण नरहेको आएपछि वैज्ञानिकहरु खोप निर्माणको सफलताको एक सिँढी उक्लिन सफल भएका हुन् ।
बढी डोजको खोप लगाइएका बाँदरहरुमा भाइरसको असर देखिएन भने कम डोज दिइएका बाँदरमा भने केहि समस्या र संक्रमण फेला परेको थियो । तर, डोज बढाएपछि ती बाँदर पनि पूर्ण रुपमा निको भएका दाबी गरिएको छ ।
हाल उक्त खोप मानिसमा परीक्षण भइरहेको जानकारी दिँदै सिनोभ्याकका वरिष्ठ निर्देशक मेंग वेनिंगले मानिसमा यस खोप पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठनले पनि यस्तै ६ अन्य खोपहरु मानिसमा परीक्षण भइसकेको जानकारी दिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बिहीबारबाट कोरोनाविरुद्धको खोपको मानिसमा परीक्षण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्