प्रदेश १ को भारतीय सीमामा ५ हजार सुरक्षाकर्मी

काठमाडौं, बैशाख ६ ।  प्रदेश १ का भारतसंग सिमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाई गरिएको छ ।

शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । सीमा क्षेत्रमा ३ हजार ७ सय सशस्त्र प्रहरी र एक हजार एक सय नेपाल प्रहरी परिचालन भएका छन् ।

दशगजामा चोकपोष्ट खडा गरी २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढाइएको छ । लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा क्षेत्रमा परिचालन बढाइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनीका प्रहरी नायव महानिरीक्षक ९डीआईजी० नगेन्द्र थापाले जानकारी दिए ।

उनले शनिबारदेखि प्रदेशको मुख्य चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीमा थप पाँचसय जनशक्ति परिचालन गरिएको जानकारी दिए । लकडाउनपछि ३ हजार २ सय सशस्त्र प्रहरी परिचालनभएकामा शनिवारदेखि ३ हजार ७ सय जना परिचालन भएका छन् ।

नेपाल प्रहरीले चार जिल्लाको सीमा क्षेत्रलाई केन्द्रित गरी १ हजार १ सय १ जना प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्