विदेशमा रहेका नेपालीबारे चनाखो रहन सरकारलाई आग्रह
काठमाडौं , बैशाख ५ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशमा रहेका नेपालीहरु जुनसुकै बेला समस्यामा पर्न सक्ने भन्दै चनाखो रहन सरकारलाई आग्रह गरेको छ ।
समिति सभापति पवित्रा निरौला खरेलले विज्ञप्ति निकालेर कोरोना भाइरस संक्रमणका कारण रोजगारी, शिक्षालगायतका लागि विदेश गएाक नेपालीलाई पर्न सक्ने समस्याप्रति सम्बन्धित देशमा राजदूतावासमार्फत चनाखो रहन सरकारलाई आग्रह गरेकी हुन् ।
‘भोलि आपतकालीन स्थिति आइलाग्दैन भन्न सकिँदैन । त्यसकारण दूतावासहरुलाई चनाखो बनाउन, समस्या भएको खण्डमा नेपालीका लागि औषधि र खानाको ब्यवस्थाका लागि पूर्व तयारी गर्न भनेका हौं’ उनले भनेकी छन् ।
विदेशमा रहेका नेपालीलाई फर्काउँदा भने संक्रमण फैलिने त्रास हुने उनको भनाइ छ ।
सभापति खरेलले नेपालको दक्षिण सिमापारि भारतीय क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई परेको समस्या सामाधान गर्न र दक्षिणतर्फको सिमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि आग्रह गरेकी छन् ।
अहिलेको असहज परिस्थितिमा तत्काल संसदीय समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले समिति सदस्यहरुसँग टेलिफोनमा कुराकानी गरेर सरकारको ध्यानाकर्षण गरेको सभापति खरेलले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्