र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सप्तरीका दुई गाउँ सिल

काठमाडौं, बैशाख ३। दिल्लीबाट फर्केका दुई जना जमातीमा र्‍यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिएको छ ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब यो दुई स्थानीय तहका व्यक्ति घर बाहिर अथवा भित्र जान सक्दैनन् ।

प्रशासकीय अधिकृत आनन्द ठाकुरले यी दुबै वडाका १र१ व्यक्तिको र्‍यापिड परीक्षणका क्रममा पोजेटिभ देखिएपछि दुबैलाई सिल गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, र्‍यापिड टेस्टका क्रममा पोजेटिभ देखिएकाको पारिवारिक सदस्यको समेत र्‍यापिड टेस्ट गरिने तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय भएको ठाकुरले बताए ।

दिल्लीबाट फर्केर घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार पोजेटिभ र नेगेटिभ दुबै रिपोर्ट आएका सातै जनाको स्वाब संकलनका लागि प्रयोगशाला परीक्षण गर्न बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइसकिएको छ ।

दिल्लीबाट आएर घरमा बसेको सूचना पाएपछि प्रहरीको टोलीले खड्क र राजविराज नगरपालिका, तिलाठी–कोइलाडी, अग्निसाइर कृष्णासावरण गाउँपालिकाका ७ जनालाई अस्पताल ल्याएर र्‍यापिड जाँच गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्