कोरोना कहरः विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या करिब एक लाख २० हजार पुग्यो , १९ लाख २३ हजार संक्रमित

 

काठमाडौं, बैशाख २ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २३ हजार नाघेको छ ।

सबैभन्दा बढी मृत्यु र संक्रमित अमेरिकामा भएको छ । त्यहाँ २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार नाघेको छ ।

चार लाख ४३ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा इटालीमा २० हजार ४ सयभन्दा धेरै छन् भने स्पेनमा १७ हजार ७ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ७० हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ५९ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १४ हजार ९ सय नाघेको छ । बेलायतमा ११ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४५ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ४१ मा रोकिएको छ । जर्मनीमा मृत्यु हुनेको संख्या ३१ सय नाघ्दा बेल्जियममा ३९ सय नाघेको छ भने नेदरल्याण्डस्मा २८ सय नाघेको छ ।

भारतमा ३५८ जनाको मृत्यु हुँदा १० हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । १२४८ जना पछिल्लो २४ घन्टामा नयाँ संक्रमित थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्