चार वटा प्रदेशका उम्मेदवार तय हुँदै
काठमाडौं । नेकपा (एमाले) ले सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन स्थायी कमिटी बैठक शुरु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनकै अध्यक्षतामा आजको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ । बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने स्रोतले जानकारी दियो ।
सोमबार राति १० बजेसम्म बसेको बैठकले तीन वटा प्रदेशका १३ उम्मेदवारको नाम टुंगो लगाएको थियो । सो अनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम र चक्रप्रसाद स्नेही (दलित) डडेल्धुराको लागि उम्मेदवार बनाइएको छ ।
यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुमको लागि उम्मेदवार बनाएको छ ।
प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र) सँग तालमेल गर्दै २९ स्थानमा उम्मेदवारी दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्