पत्रकार महासंघले भन्यो– सुरक्षित ढंगले समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ

काठमाडौं, चैत २५ ।  नेपाल पत्रकार महासंघले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहजता परिस्थितिका बीच अनेकौँ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताए ।

संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्नसमेत महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्