बाघमा पहिलो पटक देखियो कोरोनाभाइरस, अन्य ६ बाघ बिरामी
काठमाडौं , चैत २४ । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ ।
‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो संक्रमण हो,’ ब्रोन्क्स चिडियाखानाका प्रमुख पशु चिकित्सक पल क्यालेले बताए । नादिया नाम दिइएको उक्त बाघ कोही संक्रमित व्यक्तिबाट सरेको अनुमान गरिन्छ ।
‘सम्भवतः संक्रमणको कुनै लक्षण नदेखिएका चिडियाघरका कर्मचारीमार्फत् बाघमा यो सरेको हुनसक्छ, यही एउटा कुराले मात्रै अर्थ राख्छ,’ क्यालेले भने ।
उक्त चिडियाघर मार्च १६ तारिखदेखि आगन्तुकका लागि बन्द गरिएको छ ।
यसअघि विभिन्न घरपालुवा जनावरमा कोभिड–१९ को संक्रमण देखिएको थियो । हङ्गकङमा पोमेरानियन र जर्मन सेफर्ड जातका दुईवटा कुकुर र बेल्जियमको घर पालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्