मौसमविद्ले भने सचेत रहनु होला, राति हावाहुरी र चट्याङ सहित पानी पर्छ
काठमाण्डौ , चैत १८ । मङ्गलबार बेलुका देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङ सहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आज दिउँसोपछि पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले बेलुकीदेखि देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पश्चिमी वायु पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले पश्चिमका थोरै र मध्य तथा पूर्वका एकरदुई ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना छ ।
यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात पनि हुनेछ । यो प्रणालीको असर बेलुकीदेखि बुधबार बिहानसम्म देखिने मौसमविद् श्रेष्ठको भनाई छ । तर बुधबार पनि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने उनले बताए ।
पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो देशको पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली र मध्य तथा पूर्वका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्