कारोना आंशंका गरिएका एक युवा पाटन अस्पतालमा मृत्यु , बुटवल मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि

काठमाडौं, १७ चैत । कोरोना आशंकामा पाटन अस्पतालको आइसीयूमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँवास घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको हो ।

तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले बताए ।

यसैबीच पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए । उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने नआइसकेको उनको भनाइ छ ।

ती पुरुषमा ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि भन्ने आशंकामा परीक्षणका लागि नमुना पठाइएको निर्देशक शर्माले बताए । उनका अनुसार पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन् ।

त्यस्तै आइतबार बुटवलको “कोरोना विशेष” अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्