दुई इँटा भट्टाका १६ जना कामदारमा उच्च ज्वरो, संक्रमणको आशंका

काठमाडौं, चैत १४ । सर्लाहीको हरिवन-९, दनुवारीमा रहेको मैनाली इँटा भट्टा र ओबिसी इँटा भट्टामा काम गर्ने १६ जना मजदुरलाई उच्च ज्वरो देखिएको छ।

तीन दिनदेखि लगातार उच्च ज्वरो देखिएपछि सबै जनालाई इँटा भट्टामा नै क्वरेन्टीन तयार गरी सुरक्षित राखिएको हरिवन नगरपालिका(९ का वडाध्यक्ष सिताराम पोख्रेलले जानकारी दिनुभयो।

दुवै इँटा भट्टामा काम गर्ने १६ जना मजदुरलाई तीन दिनदेखि तगातार १०४ डिग्री भन्दा माथि ज्वरो आएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । ज्वरो कम नभएपछि हिजो स्वास्थ्यकर्मीको टोली इँटा भट्टामा पुगेर उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए

दुवै इँटा भट्टामा काम गर्ने अधिकांश मजदुर भारतका भएकाले उनीहरुमा कोभिड १९ अथवा कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गरिएको छ। इँटा भट्टाामा काम गर्न एक साता अघि मात्र उनीहरु भारतको विभिन्न स्थानबाट त्यहाँ आएका बुझिएको छ ।

गाँउ नजिकै रहेको इँटा भट्टाका मजदुरलाई उच्च ज्वरो देखिएपछि स्थानीय अहिले थप त्रसित भएका छन् । भट्टा नजिकै निर्माण भैरहेको खानेपानी ट्याङकी बनाउने मजदुरमा समेत ज्वरो देखिएपछि उनीहरुलाई समेत त्यही क्वरेन्टीनमा राखिएको छ।

दुवै इँटा भट्टामा गरी ३ सयभन्दा बढी मजदुर काम गरिरहेका छन भने खानेपानीको ट्याङकी बनाउन १३ जना मजदुरले काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्