राष्ट्रियसभा चुनावको नतिजा तीन दिनभित्रै आउने !

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनकालागि आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

हिजो प्रारम्भीक नामावली प्रकाशन गरेको आयोगले दावी विरोध र उजुरीमाथी छानविन जारी राखेको छ । मतदाता नामावली प्रदेश अनुसार निर्वाचन अधिकृतको कार्यालवाट प्रकाशन गरिने छ । आज अन्तिम नामावली प्रकाशन पछि १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालीका रहेको आयोगले जनाएको छ ।

नतिजा तीन दिनभित्रै आउने
निर्वाचन आयोगलले राष्ट्रिय सभाको निर्वाचनको परिणाम मतदान भएको तीन दिनभित्र घोषणा गरिसक्ने जनाएको छ ।

मतदाताको संख्या तुलनात्मक रूपमा थोरै हुने भएकाले माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको परिणाम तीन दिनभित्र घोषणा गरिसक्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट महिला ३, खुल्ला सदस्य ३, दलित १ तथा दलित र अपाङ्ग वा अल्पसंख्यक १ गरी जम्मा ८ जना प्रतिनिधि चुनिनेछन् ।

निर्वाचनमा महिला, खुल्ला, दलित र अपाङ्ग वा अल्पसंख्यकको लागि आठ छुट्टा–छुट्टै मतपत्र छापिने व्यवस्था गरिएको छ । ७ प्रदेशबाट आठजनाको हिसाबले ५६ जना तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ३ जना सदस्य मनोनित गरेपछि ५९ सदस्यीय राष्ट्रिय सभा बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्