दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह आयोगको आग्रह
काठमाडौं, १३ चैत । राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनलाई मध्यनजर गर्दै यस्तो अवस्थामा सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ ।
आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै लकडाउनका बेला अप्ठेरामा परेका तथा घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।
यस्तै, उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तीनका परिवारहरूको स्वास्थ्य सुरक्षा सुनिश्चत गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ ।
त्यस्तै आयोगले लकडाउन उल्लंघन नगर्न सबैलाई आव्हान गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड १९) लक्षित गरेर लकडाउन गरेको तेस्रो दिन आयोगले यस्तो आग्रह गरेको हो ।
‘सरकारले गरेको लकडाउनको सबै नागरिकले पूर्ण पालन गरी घरभित्रै रहन र त्यसको अवज्ञा नगर्न आमनागरिकलाई आव्हान गर्दछौं’ आयोगको विज्ञप्तिमा उल्लेख छ । अवज्ञा गर्नेलाई मानवोचित व्यवहार र कानून बमोजिम कारवाही गर्नुपर्ने आयोगको ठहर छ । त्यस्तै लकडाउनका बेला देनिक उपभोग्य बस्तुको उपलब्ध सहज बनाउन सरकारलाई आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्