प्रेस काउन्सिलले रोक्यो सात अनलाइनको प्रसारण, अन्य १७ सञ्‍चारमाध्यमलाई कारवाही

काठमाडौँ, चैत ११ । प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रवाह गरेको भन्दै १७ सञ्चारमाध्यमलाई कारवाही गरेको छ। जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारवाही गरेको हो। कोरोना भाइरस संक्रमणका बेला विभिन्न सञ्चारमाध्यमहरुले उत्तेजक तथा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्दै आएका छन्। यसैबीच प्रेस काउन्सिलले दर्ता नभई सञ्चालन भएका ७ वटा अनलाइनको प्रसारण नेपालभरि हेर्नै नमिल्ने बनाएको छ।

त्यस्तै, भ्रामक, उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासँग प्रेस काउन्सिलले त्यस्ता सामग्री हटाउन लगाउनुका साथै स्पष्टीकरण पनि सोधेको छ।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले कोरोना भाइरसका सन्दर्भमा अफवाह फैलाउने, गलत सूचना दिने र भ्रम फैल्याउने मिडियाहरुलाई सामग्री हटाउन लगाउनुका साथै स्पष्टीकरण सोधेको जानकारी दिए।

‘हामी भ्रम फैलाउने मिडियालाई कारबाही गर्दैछौँ, आज मंगलबार पनि केहीलाई पत्र काटिसकेका छौँ,’ कार्यबाहक अध्यक्ष श्रेष्ठले जानकारी दिए। प्रेस काउन्सिलले कोरोना भाइरस संक्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मिका लागि ९ बुँदे निर्देशिका समेत जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्