७ घण्टामा १ लाख २८ हजारले काठमाडौं छाडे, बाहिरिने यात्रुको संख्या व्यापक

काठमाडौं, चैत ९ । सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै उपत्यका छाड्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। आइतबार बिहान ६ बजेदेखि दिउसो १ बजेसम्म उपत्यकाका विभिन्न नाकाबाट १ लाख २८ हजार ६ सय जना बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सरकारले सोमबारदेखि लामो दूरीका सवारी सञ्चालनमा रोक लगाएका कारण विगत दुई दिनदेखि उपत्यकाबाट बाहिरिने यात्रुको संख्या व्यापक रुपमा बढेको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाको जोखिम बढेको भन्दै सोमबादेखि लामो दूरीका यात्रुबाहक सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने घोषणा गरेका थिए।

शनिबार उपत्यकाबाट २ लाख ६ हजार ३ सय ३९ जना बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ। यात्रु बाहिर जान २९ हजार ७३ वटा सवारी प्रयोग भएको थियो। बिहीबारसम्म काठमाडौं आउने र बाहिरिने यात्रुको संख्या करीब बराबर नै थियो। तर सरकारको उक्त निर्णयसँगै उपत्यका छाडेर गाउँ जानेको संख्यामा भारी वृद्धि भएको हो।

शनिबार १६ हजार सवारीसाधन मार्फत ४८ हजार ७२ जना यात्रु काठमाडौं भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै शुक्रबार १८ हजार ५ सय ५४ वटा सवारीसाधन मार्फत १ लाख ८ हजार ४ सय ५८ जना यात्रुले उपत्यका छाडेका थिए।

त्यस्तै १५ हजार १ सय ४० सवारीसाधन मार्फत ८३ हजार १ सय ३९ यात्रु उपत्यका भित्रिएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्