कोरोना महामारी : मर्नेको संख्या ११ हजार नाघ्यो

काठमाडौं, चैत ८ । शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ११ हजार ३९९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ। पछिल्लो समय युरोपलाई केन्द्रविन्दु बनाएको भाइरसका कारण त्यहाँ ५ हजार बढीले ज्यान गुमाइसकेका छन्।

युरोपको इटालीमा सबभन्दा बढी ४ हजार ३२ जनाको ज्यान गएको छ। त्यस्तै स्पेनमा १ हजार ९३ जनाले ज्यान गुमाइसकेका छन् भने बेलायतमा १७८ जनाको मृत्यु भइसकेको छ।

एसियामा भने चीनपछि इरानमा कोरोनाको संक्रमण बढी देखिएको छ। चीनमा ३ हजार २५९ को मृत्यु भइसकेको छ भने इरानमा १ हजार ४३३ ले ज्यान गुमाइसकेका छन्। चीनमा केही सातादेखि संक्रमित संख्याको अनुपात घटेको छ।

चीनमा अहिलेसम्म ८१ हजार २८६ मा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै ७१ ह्जार ८५४ जना सफल उपचारपछि घर फर्किएका छन्। इरानमा भने संक्रमण अनुपात बढेको छ। इरानमा शनिबारसम्म १९ हजार ६४४ मा संक्रमण पुष्टि भइसकेको छ।

गत डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा देखा परेको भाइरसबाट विश्वभर २ लाख ७५ हजार संक्रमित भएको पुष्टि भएको छ। त्यस्तै ८८ हजारको सफल उपचार भएको छ।

प्रतिक्रिया दिनुहोस्