कोरोनाको प्रभाव : ज्यालादारी श्रमिकको जीवनयापनमा कठिनाई
काठमाडौं, चैत ८ । कोरोना भाइरसका कारण सबैभन्दा बढी दैनिक ज्यालादारी तथा मजदुरी गर्ने श्रमिकहरुमा प्रभाव परेको छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएका श्रमिक तथा ज्यालादारीहरु बजारमा सामान नआउनुका साथै बजारमा उपभोक्ताहरुको चहलपहल नहुँदा व्यापार खस्कन थालेपछि मारमा परेका हुन् ।
सामान नभएर व्यापारीहरुको गोदाम नै रित्ता भइसकेकाले आफुहरु काम नपाएर जीवनयापन गर्न र पेशा नै संकटमा परेको उनिहरुको गुनासो छ । अरुबेला दैनिक एकहजारसम्मको हाराहारीमा कमाउने श्रमिकहरु आजभोली दुई सय रुपैयाँ कमाउन पनि कठिन भएको बताउछन् ।
दिनभरी लत्ताकपडा, जुत्ता चप्पल, झोला र विद्युयुतीय सामग्रीका बोरा बोक्न भ्याइनभ्याइ हुनेहरु अहिले काम नपाएर भौतारी रहेका देख्न सकिन्छ । कोरोना भाइरसका कारण व्यपारीहरुका पसल ठप्पजस्तै बन्न थालेपछि दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने श्रमिकहरु अहिले निराश देखिन्छन् ।
काठमाडौंको मुख्य व्यपारी केन्द्र न्युरोड, महाबौद्घ, प्युखा, इन्द्रचोक, असन र रत्नपार्क , नया बसपार्क , बानेश्वर, कोटेश्वर पूरानोबसपार्क लगायत क्षेत्रका होलसेल पसलहरुमा काम गर्न भ्याइनभ्याइ हुने उनिहरु यतिबेला बजारमा कसले भारी बोक्न बोलाउला भनेर आशमा दिन बिताइ रहेका छन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको उच्च सतर्कता अपनाउन सरकारले खबरदारी गरेसँगै नेपालमा सामान आउने नाकाहरु बन्द भएका छन् । यसको प्रत्यक्ष असर श्रमिकलाई मात्र नभएर सबै नागरिकलाई समेत परेको छ ।
भारी बोकेरै परिवारको दायित्व निर्वाह गर्नुपर्नेहरु काम नपाएपछि अब घर फर्किनुको विकल्प नभएको दुःखेसो पोख्छन् दैनिक ज्यालादारी श्रमिकहरु । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोडने, घरभाडा तिर्ने, बालबच्चा पढाउने गर्थ्यौ, अब काम गर्न नपाइने हो कि भन्ने चिन्ता उनीहरुलाई छ ।
कोरोनाको प्रत्यक्ष्य प्रभावका कारण व्यपार व्यवसाय ,होटेल, लज, रेष्टुरेण्ट लगायतका क्षेत्रमा असर परेपछि श्रमिकहरुको जीवनयापनमा ठूलो संकट देखिएको हो । काम नपाएपछि उपत्यकाबाट बाहिर जानेहरुको संख्या ह्वात्तै बढेको छ । उपत्यकाबाट लाखौंको संख्यामा घर फर्किनेहरुको लर्को बसपार्क र नाकाहरुमा देखिन्छ ।
त्यस्तै कोरोना भाइरसको त्रासका कारण ठमेलका अधिकांश होटल रेष्टुराँ बन्द भएपछि कर्मचारीहरु पनि मारमा परेका छन् । यतिबेला मुख्य पर्यटकीय केन्द्र ठमेलका अघिकांश होटल व्यवसायीले कर्मचारीलाई अनिश्चितकालको लागि बेतलबी बिदा दिएर घर पठाएका छन् ।
ठमेल विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाले अहिले अधिकांश रात्रि व्यवसायहरु बन्द भएको बताए । अध्यक्ष राणाले भने, ‘अहिले होटल, रेष्टुराँ जस्ता अधिकांश रात्रि व्यवसायहरु बन्द छन् भने त्यहाँ कार्यरत अधिकांश कर्मचारीहरुलाई घर पठाइएको छ । धेरै कर्मचारीहरु घर जान पनि खुशी नै देखिन्छन् ।’
परिषद्का अनुसार अहिले ठमेल क्षेत्रभित्र मात्रै साना–ठूला गरेर ४ हजार जति होटलहरु छन् । त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३० हजार कर्मचारीहरु छन् ।
होटल, बार, रेष्टुरेन्ट तथा विभिन्न पर्यटकीय क्षेत्र, शैक्षिक संस्था बन्द हुँदा र व्यवसाय सञ्चालन गर्ने व्यवसायीमा आएको आर्थिक मन्दीका कारण कार्यालयहरु बन्द भएपश्चात कर्मचारीलाई तलव भक्ता दिन समेत कठिन भएको छ । यसले गर्दा दिनप्रतिदिन राजधानीबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको हो ।
















प्रतिक्रिया दिनुहोस्