कोरोनाको संक्रमण शून्यमा झरेको चीनको दावी, प्रभावित बन्दै इटाली

काठमाडौं, चैत्र ६ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा फैलन छाडेको छ । विगत केहिदिनदेखि चीनमा नयाँ संक्रमणको संख्या शुन्य छ भने ज्यान गुमाउनेको संख्या पनि देखिएको छैन् । यो सँगै चीनले आफ्नो देशमा कोरोना भाइरसको नयाँ संक्रमण नदेखिएको दावी गरेको छ ।

चीनको हुबेई प्रान्तको वुहानमा शुरु भएको कोभिड–१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ संक्रमित फेला नपरेको चिनियाँ अधिकारीहरूले दावी गरेका हुन् ।
तर बाहिरबाट चीन आएका ३४ जना व्यक्तिमा भने नयाँ संक्रमण देखिएको जनाइएको छ । जनवरी यता चीनमा ८१ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको थियो ।

यो भाइरसबाट अहिलेसम्म सबैभन्दा बढी मानिसको मृत्यु पनि चीनमै भएको छ । अहिलेसम्म ३ हजार २२५ जनाको मृत्यु यसैका कारण भएको छ । ७० हजारभन्दा बढी व्यक्तिलाई भने निको भएको बताइएको छ ।

१० हजारभन्दा बढी व्यक्तिमा अझै संक्रमण सक्रिय रहेको जनाइएको छ । संक्रमण फैलिएपछि कठोर क्वारेन्टाइन नीति लागु गरेकाले भाइरस थप फैलनबाट रोक्न सकिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । यद्यपि, चीनमा कोरोना भाइरसको जोखिम हटिनसकेको विज्ञहरूको भनाइ छ ।

यसैबीच विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १७३ देशमा पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित मध्ये ८४ हजार ३ सय ८६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि दोस्रो धेरै प्रभावित बनेको मुलुक इटाली हो । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ । जहाँ ४ हजार २ सय ७ जनामा नयाँ संक्रमण देखिएको छ ।
अहिलेसम्म इटालीमा २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । ४ सय ७५ जनाले एक दिनमै ज्यान गुमाएका छन् ।

त्यस्तै इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् । १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् ।कोरोनाकै संक्रमणबाट स्पेनमा ६ सय ३८, जर्मनीमा २८, अमेरिकामा १५०, फ्रान्समा २६४, दक्षिण कोरियामा ८४, स्वीटजरल्याण्डमा ३३, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा भने अहिलेसम्म संक्रमित फेला परेको छैनन् । नेपाल आएका एक चिनियाँमा देखिएको संक्रमण पनि ठीक भएर उनी फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्