प्रदेश नम्बर २ को नाम र राजधानीको लागि आज मतदान
काठमाडौँ, ४ चैत । लामो समयसम्म पनि प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीमा कुरा नमिल्दा आखिर मतदान नै हुने भएको छ । यसका लागि मंगलबार मतदान हुँदैछ । यसबाट नै नाम र स्थायी राजधानीको टुंगो लाग्नेछ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ ।
प्रदेश नम्बर २ सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई आ– आफ्नो धारणा राख्न दिइने छ । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभाुमख यादवले बताए । यसका निम्ति सबै तयारी भइसकेको उनले जानकारी दिए ।
प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन ।
प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।
पछिल्लो पटक नाममा सहमति जनाउन धेरै प्रयास भएपनि सहमति हुन नसकेको सभामुख यादवले बताए । राजनीतिक सहमति भए पनि मतदान गराउनैपर्ने भएका कारण चुनाव गराउन लागिएको हो ।
प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।
यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो । विशेष समितिमा पनि दलहरुबीच स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भए पनि नामको विषयमा सहमति हुन नसक्दा यो मतदान पक्रियामा अगाडी बढिएको हो । यसलाई मतदान ले नै टुंगो लगाउने छ ।











प्रतिक्रिया दिनुहोस्