प्रदेश सभा सदस्य, कसले कहाँ खाए सपथ ?

काठमाडौं । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण सम्पन्न भएको छ ।

प्रदेशप्रमुखले प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ गराएपछि ज्येष्ठ सदस्यबाट अरु सांसदहरुलाई शपथ गराइएको थियो ।

पहिलो चरणको निर्वाचन सम्पन्न भएको दुई महिनापछि बल्ल प्रदेश सांसदहरुले आइतबार शपथग्रहण गरेर वैधानिकरुपमा सांसद बन्ने अवसर पाए ।

निर्वाचन आयोगले आगामी २४ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम पनि आइतबारदेखि नै सुरु गरेकाले हतार–हतारमा प्रदेश सांसदहरुलाई शपथ गराइएको हो ।

जसअनुसार प्रदेश नम्बर–१ का ९४ जना प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विराटनगरस्थित वीरेन्द्र सभागृहमा गरिएको कार्यक्रममा प्रदेश नम्बर–१ का प्रमुख गोविन्दबहादुर सुब्बाले ७४ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराएपछि सरावगीले बाँकी ९३ जना सदस्यहरुलाई शपथ गराएका थिए ।

प्रदेश नम्बर–१ को प्रदेशसभाको पहिलो बैठक भने तोकिएको छैन ।

यस्तै, जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा प्रदेश–२ का सांसदहरुलाई शपथ गराइएको छ ।

प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थबाट ज्येष्ठ सदस्य लगनलाल चौधरीले शपथ लिएपछि चौधरीले अरु १०६ सदस्यहरुलाई शपथ गराएका थिए । शपथग्रहणकाक्रममा भाषालाई लिएर विवादमा भएको थियो ।

सिरहा क्षेत्र नम्बर–१ ‘क’का नेकपा एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य चौधरीले नेपाली भाषामा शपथ लिएका थिए ।

तर, अरु प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा शपथ नलिने भन्दै विरोध गरेपछि उनीहरुलाई मन लागेको भाषामा शपथ लिन छुट दिइएको थियो ।

प्रदेश–२ मा प्रदेश संसदको पहिलो बैठक माघ २१ गते आह्वान गरिएको छ ।

प्रदेश नम्बर–३ को शपथग्रहण हेटौंडामा सम्पन्न भएको छ । प्रदेशप्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासकको कार्यालयमा शपथग्रहण गराएपछि पौडेलले ९९ जना सदस्यलाई क्षेत्रीय शिक्षा निर्देशनालयमा शपथ खुवाए ।

शपथग्रहण समारोहमा कतिपय सांसदहरु आफ्नो मौलिक भेषभूषामा सजिएर उपस्थित भएका थिए ।

प्रदेश–३ को पहिलो बैठकको समय भने तोकिएको छैन ।

उता, पोखरामा प्रदेश नम्बर–४ का प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशप्रमुख बाबुराम कुँवरबाट शपथ लिएपछि उनले अरु प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।

श्रेष्ठले प्रदेशप्रमुखको कार्यालय पार्दीमा शपथ लिएका थिए भने ५८ जना प्रदेशसभा सदस्यहरुलाई नदीपुरस्थित प्रदेश सभाहलमा शपथ गराइएको थियो ।

मनाङ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) र तनहुँबाट निर्वाचित सांसद रामबहादुर गुरुङ शपथमा सहभागी भएनन् ।

हत्या अभियोगमा पाटन उच्च अदालतबाट दोषी ठहर भएका मनाङे ‘फरार’ छन् भने रामबहादुर गुरुङ देशबाहिर रहेका कारण शपथमा सहभागी नभएका हुन् ।

प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्यहरुको शपथ बुटवलमा सम्पन्न भएको छ । प्रदेशप्रमुख उमाकान्त झाले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ गराएपछि पोखरेलले अरु ८६ जना सदस्यलाई शपथ गराए ।

बुटवल उद्योग वाणिज्य संघको हलमा शपथ गराइएको हो । प्रदेश नम्बर–५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ जना प्रदेशसभा सदस्य छन् ।

यस्तै, प्रदेश नम्बर–६ का प्रदेशसभा सदस्यहरुले पनि शपथ लिएका छन् । प्रदेशप्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य भीमबहादुर शाहीलाई शपथ गराएपछि पोखरेलले अरु ३९ जना सदस्यलाई शपथ गराएका थिए ।

सुर्खेतको जिल्ला समन्वय समितिको हलमा शपथ गराइएको थियो ।

उता, प्रदेश नम्बर–७ का प्रदेशसभा सदस्यहरुले पनि आइतबारै शपथ लिएका छन् ।

प्रदेशप्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य दिप्तेश्वरी शाहलाई शपथ गराएपछि शाहले अरु ५२ जना सदस्यलाई शपथ गराएकी थिइन् ।

धनगढीको जिल्ला समन्वय समितिको हलमा सभा सदस्यहरुले शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्