कोरोना भाइरस: अमेरिकामा भाइरसविरुद्ध राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं, चैत १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभीड–१९ कोरोना भाइरसविरुद्ध लड्न राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । यस घोषणासँगै कोरोनाको महामारीबाट प्रभावित अमेरिकीहरुलाई तत्कालै राहत दिन ५० बिलियन अमेरिकी डलरसम्म खर्च गर्न सकिने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

‘स्टाफोर्ड ऐन’ अन्तर्गत राष्ट्रपतिले ‘सरुवा रोग आपत्काल घोषणा’ गरेपछि संघीय आकस्मिक व्यवस्थापन एजेन्सीले राज्य र स्थानीय सरकारलाई प्रकोपविरुद्ध लड्न बजेट दिन सक्नेछ । यस घोषणाले एजेन्सीलाई कानूनी अवरोध चिरेर छिट्टै राहत वितरण गर्न अनुमति दिन्छ ।

ट्रम्पले कोरोनाको संक्रमण रोक्नका लागि देशका हरेक राज्यमा इमर्जेन्सी अपरेशन सेन्टर निर्माण गर्न निर्देशन दिइएको बताए । ‘राष्ट्रिय संकटकाल घोषणापछि वासिङ्टनजस्ता संकटमा रहेका राज्यका लागि थप बजेट र स्रोत प्राप्त हुनेछ । मलाई आशा छ राष्ट्रपतिको आजको कदमले वासिङटनमा कोरोनाबाट प्रभावित कामदार, व्यापारी, परिवार र समुदायका लागि राहत मिल्नेछ,’ वासिङटनका गर्भनर जय इन्स्लीले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘यो स्वास्थ्य संकटलाई बुझेर अहिल्यै आवश्यक कदम उठाउनु हामी सबैको कर्तव्य हो । भोलि वा अर्को साता होइन, आजैबाट भाइरसको संक्रमण नियन्त्रण गर्न र मानिसलाई जोगाउन हामी जुट्नुपर्ने अवस्था छ ।’ अमेरिकाले २६ वटा युरोपेली देशबाट आउने गैर–अमेरिकीहरुका लागि भ्रमण प्रतिबन्ध समेत लगाएको छ । अमेरिकामा शनिबारसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्