गीता छुँदै कमल थापाले भने- ‘अब पार्टी फुटाउँदिन’
काठमाडौँ , फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भागवत गीताको किताब छोएर अब पार्टी नफुटाउने ‘ कसम ’ खाएका छन् । बुधवार राष्ट्रियसभागृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो कसम खाएका हुन् । गीताको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘म पनि अब कहिल्यै पार्टी फुटाउँदिन । यो गीताको पुस्तक साक्षी छ ।’ उनले थपे, ‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले पनि प्रतिवद्धता जनाउनुपर्छ ।’ त्यसअघि एक जनाले बोल्न एक मिनेट समय माग गर्दै भने, ‘पटक–पटक पार्टी फुटेर धोका पाएका छौं। नेताहरूले गीताको पुस्तक छोएर अब पार्टी फुटाउँदैनौ भन्नुर्पयो।’
अध्यक्ष थापाले पार्टी एकताबाट आफु सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरी कहिले नफुट्ने र नअलग्गीने संकल्प लिएर एक भएको बताए । विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने थापाले बताए । उनले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
अध्यक्ष थापाले पार्टी फुट्छ की भन्ने विगतको दुविधा र आशंकालाई हटाउनुपर्ने बताए ।
उनले पार्टी फुट्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हुन पनि आग्रह गरेका छन् । उनले भने, ‘पार्टी एकता हुन पाएको छैन फेरी फुट्छ की भन्ने चिन्ताबाट मुक्त हुनुहोस् । यसले हामीलाई सिथिल बनाउँछ । अब फुट्दैन र फुट्न दिन्नौँ भन्ने प्रतिज्ञा गरेर अगाडी बढ्नुपर्छ । स्वाभिमानी कार्यकर्ता हुने हो भने तपाईहरुले पनि संकल्प गर्नुप(यो, नेताको पछाडी होइन नीतिको पछाडी र व्यक्तिको पछाडी होइन विचारको पछाडी लाग्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ ।’
अध्यक्ष थापाले पार्टी एकतापछि आफ्नो बोझ केही कम भएको समेत बताएका छन् । ‘विगतमा पार्टी अध्यक्षको हैसियतमा एक्लैले बोक्नुपरेको भार अहिले साथीहरुसँग सेयर गर्ने अवशर मिलेको छ’, थापाले भने । अध्यक्ष थापाले एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबावमा नभएको बताएका छन् । पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको दबाव र प्रेरणाले पार्टी एकता भएको उनले बताए ।
उनले भने, ‘यो एकता कसैको दबाव र प्रभावमा परेको होइन । कुनै स्वदेशी विदेशी शक्तिको दबाव र प्रभावमा एकता भएको होइन । पार्टीर्लाइ माया गर्ने कार्यकर्ता सहयोगी शुभचिन्तकको दबाब र प्रेरणाको प्रभाव हो। देशको वर्तमान अवस्थाले एकताको विन्दुमा पुग्नका लागि प्रेरित गरेको छ ।’
पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातन्त्रीक शक्ति र विकल्प प्राप्त गरेको उनले बताए । देश कठिन अवस्थाबाट जुधिरहेको अवस्थामा जनताले विकल्प खोजेको र विकल्प निर्माण गर्ने क्रममा पार्टी एक भएको उनले बताए । थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताए ।
अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले बोकेको बिचार र मार्ग्चित्र त्रृटिपूर्ण रहेको बताएका छन् । नेपाली समाजमा यी दुई पार्टीको बिचारले विभाजनको रेखा कोरेको आरोप उनले लगाए । बुधवार थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच पार्टी एकीकरणको घोषणा भएको हो । पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पनि पालैपालो गर्ने समहति भएको छ।
प्रतिक्रिया दिनुहोस्