कोरोना भाइरसको महामारी: चीनमा संक्रमण संख्या घट्दै, युरोपमा बढ्दै

काठमाडौं, फागुन २८ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या चीनमा मात्र ३ हजार १ सय ६२ पुगेको पुष्टि भएको छ। विश्वभरी १ लाख १८ हजार २२३ भाइरस संक्रमित भएका छन्। यसमध्ये ६५ हजार ७७६ निको भएर घर फर्किएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस संक्रमणको कारण विश्वभरी ४ हजार २९१ को मृत्यु भएको भएको छ। यसैगरी कोरोना ११४ देशमा फैलिएको छ।

अन्तरराष्ट्रिय सञ्चार माध्यम द न्यू योर्क टाइम्सका अनुसार इटालीमा भाइरस संक्रणबाट ६३१ को ज्यान गइसकेको छ। यस्तै दक्षिण कोरियामा ७ हजार ७५५ संक्रमित र ५४ को मृत्यु भएको छ।

इरानमा ८ हजार ४२ मानिस संक्रमित र २९१ को मृत्यु भएको छ।भारतमा संक्रमित हुनेको संख्या ५९ पुगेको छ। उसले फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई रोक लगाएको छ। यसअघि चीन, दक्षिण कोरिया, इरान, इटाली र जापानबाट आउन चाहनेको भिसा रोकेको थियो।

यसैगरी स्पेनमा मृत्यु हुनेको संख्या ३५, फ्रान्समा ३३ र अमेरिकामा २३ पुगेको छ।जापानमा भाइरसबाट संक्रमणपछि मृत्यु हुनेको संख्या १६ पुगेको छ भने संक्रमित हुनेमा ५ सय ८१ छन्।

जर्मनीमा भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ। जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूटले बुधबारसम्म १ हजार ५ सय ६५ संक्रमित भएको पुष्टि गरेको छ। बेलायतमा भाइरस संक्रमितको संख्या ३ सय ८२ पुगेको छ भने ६ जनाले ज्यान गुमाएका छन्।इन्डोनेसियामा पनि एक जनाको भाइरस संक्रमणका कारण मृत्यु भएको छ। त्यहाँ २७ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको कारण माल्दिभ्समा चुनावी कार्यक्रम स्थगित गरिएको छ। माल्दिभ्समा अहिलेसम्म ६ व्यक्ति संक्रमित भएका छन्।

स्वीडेनमा संक्रमितको संख्या ३५५, बेल्जियममा २६७, डेनर्माकमा २६२, सिंगापुरमा १६०, मलेसियमा १२९, अस्ट्रेलियामा १०७, स्वीजर्ल्याण्डमा ४९१, नर्वेमा ४००, नेदरल्याण्डमा ३८२, र मलेसियामा १२९ कोरोना भाइरस संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्